बिस्कुन हाकेर जिवन
प्रवासका निर्दयी बस्तीमा
सास्तीको भारी बोकेर
झुकाएर स्वभीमानताहरु
लुकाएर आक्रोसहरु
आँशु चपाएर
अपमान पचाएर
स्मृतिको तरेलीमा
तिहार मनाउदै छु बहिनी
स्मृतिको कुनामा राखेर
सप्तरङ्गी टिकाका थालीहरु

मखमलिका सुन्दर हातहरु
भत्काउन गरिवका
निरंकुश बारहरु
फलामको चिउरा चपाएर
मुग्लानमा सुन्दर भबिष्य
खोज्दै बाँचेको छु बहिनी
तिमी तातो र रातो
सेलरोटी मझेरीमा गुडाएर
सुन्दै देउसी र भैलोका धुनहरु
अनि मच्चाउदै रोटे पिङ
उन्दै गर्दा सयपत्री हारहरु
म मन भुलाउन सुकाएर आशु
फलामे मेसिनसँग धसिएर
स्वर्णिम भबिष्यको लागि
तड्पिएर बाँचेको छु बहिनी
तेलका रेखी सँगै
नझार आँशुका ढिकाहरु
सप्तरंगी टिकाको थालिमा
बरु धपाउ यमराजहरु
फुटाउ दुश्मनका खप्परहरु
औखरका दानाहरुसँगै
दैलोको ठेलोमा राखेर
अनि सम्हाल मास्तीको
बिछोडमा रोएका तिम्रा मनहरु